रामेछाप, मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सञ्चालन हुने भएको छ। तामाकोसी सेवा समितिले डायलाइसिस सेवा बन्द गरेपछि मृगौला रोगीहरू उपचारका लागि अन्य जिल्लामा जान बाध्य हुँदै आएका थिए।
यस समस्यालाई समाधान गर्न रामेछापबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा महेतासँग भेट गरी रामेछापका मृगौला रोगीहरूको अवस्थाबारे जानकारी गराएका थिए।
भेटका क्रममा मन्त्री महेताले नागरिकको स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्थली नगर अस्पतालमा आवश्यक डायलाइसिस मेसिन छिट्टै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
अर्थ समितिका सभापति डा. बुढाथोकीका प्रमुख स्वकीय सचिव दिनेशराज सुबेदीका अनुसार डायलाइसिस सेवा सञ्चालनमा आएपछि रामेछापका बिरामी मात्र नभई ओखलढुंगा र दोलखा जिल्लाका मृगौला रोगीहरू पनि प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
डायलाइसिस सेवा सञ्चालन भएपछि लामो दूरीको यात्रा, उपचार खर्च र समयको भार कम हुने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि मन्थलीमै सेवा सञ्चालन हुने तयारीलाई स्वागत गरेका छन्।






