काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको साझा आकांक्षा पूरा गर्न राष्ट्रिय संकल्पका साथ एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गरेकी छन्। तिहार, म्हं पूजा, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा आज जारी शुभकामना सन्देशमार्फत उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइलाई शुभकामना व्यक्त गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले कठिन परिस्थितिमा एकताबद्ध रहने नेपाली समाजको मौलिक संस्कृतिको स्मरण गर्दै निराशा र अन्धकारलाई समाप्त पार्दै उज्यालो भविष्य निर्माणमा सबैलाई हातेमालो गर्न आग्रह गरिन्।
उनले आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको उल्लेख गरिन्। साथै, स्थिर सरकार निर्माण, सुशासन कायम, भ्रष्टाचारविरुद्ध ठोस कदम र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिनलाई सरकारको प्राथमिक जिम्मेवारीका रूपमा स्पष्ट गरेकी छन्।
प्रधानमन्त्रीले भदौको जेनजी आन्दोलनले जनताले दिएको भरोसा र जिम्मेवारीलाई सम्मान गर्दै समावेशी, पारदर्शी र उत्तरदायी शासनमार्ग अवलम्बन गर्ने सरकारको प्रतिबद्धता दोहोर्याइन्। दीपावलीका पर्वले आशा, विश्वास र समृद्धिको प्रतीक बोकेको उल्लेख गर्दै उनले अन्धकारमाथि उज्यालो, निराशामाथि आशा र अन्यायमाथि न्यायको विजयका रूपमा पर्व मनाउन सबैलाई आग्रह गरिन्।







