रामेछाप : रामेछाप जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. कृष्णहरि बुढाथोकी विजयी भएका छन्। निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उनले २४,८०८ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का माधव ढुंगेलले १७,६०९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रामचन्द्र खड्काले १६,३०७ मत पाएका छन्। त्यसैगरी नेकपाका श्याम कुमार श्रेष्ठले १३,३४५ मत प्राप्त गरेका छन्।
निर्वाचनमा कुल ९०,७२० मत खसेको थियो, जसमध्ये ५,०४८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
डा. बुढाथोकीको जितसँगै रामेछापमा रास्वपाले प्रतिनिधि सभा सिट आफ्नो पक्षमा पारेको छ। विजयी भएपछि उनले जनताको विश्वासलाई काममार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।







