झापा : झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाह ले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।
निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालय झापा मा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा कूल १४ लाख १७ हजार ७२९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।
पेस गरिएको विवरणमा विभिन्न शीर्षकमा गरिएको खर्च समेटिएको छ। निर्वाचन प्रचारप्रसारका क्रममा सवारीसाधन भाडामा १५ दिनका लागि दुई वटा सवारी प्रयोग गर्दा २ लाख ३३ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। त्यसैगरी पाँच पटकको हवाई भाडामा ३५ हजार रुपैयाँ तथा मतदाता प्रशिक्षण कार्यक्रमको खाना खर्च शीर्षकमा २६ हजार ९७० रुपैयाँ खर्च भएको जनाइएको छ।
त्यस्तै वडास्तरीय प्रचार कार्यक्रम तथा घरदैलो अभियान सञ्चालनका लागि ४ लाख ५० हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ। नमूना मतपत्र छपाइका लागि ४४ हजार ५५० रुपैयाँ खर्च भएको जनाइएको छ।
निर्वाचन अभियानका क्रममा कार्यालय सञ्चालनका लागि पानी खर्च शीर्षकमा दुई महिनामा ९० हजार रुपैयाँ तथा स्टेशनरी खर्च शीर्षकमा २९ हजार ६७० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
यसैगरी प्रचार सामग्री छपाइ (कपडा तथा ब्यानर) मा १ लाख ७५ हजार ३४ रुपैयाँ र प्रचार सामग्री ढुवानी तथा टिकटमा १ लाख १९ हजार ५०५ रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ। उम्मेदवारी दर्ता शुल्कका लागि १० हजार रुपैयाँ खर्च भएको पनि उल्लेख गरिएको छ।
खर्च विवरण शाहका प्रतिनिधि नवीन भण्डारीले हस्ताक्षर गरी आज जिल्ला निर्वाचन कार्यालय झापामा पेस गरेका हुन्।







