काठमाडौँ: सङ्घीय संसद्को प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। कुल २७५ सांसदमध्ये ६३ भन्दा बढीले मातृभाषामा शपथ लिने जानकारी संसद् सचिवालयलाई गराएका थिए।
सिंहदरबारस्थित संसद् भवनमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन्। विभिन्न मातृभाषामा शपथ लिने क्रममा यज्ञबहादुर बोगटीले अछामी, मोहम्मद इस्तियाक राईले अवधि, आकृति अवस्थीले डोटेली, गङ्गा छन्त्यालले छन्त्याल र करिस्मा कठरियाले कठरिया थारू भाषामा शपथ लिएका छन्।
त्यसैगरी, निश्कल राईले चाम्लिङ, दीपकराज बोहराले डोटेली, सुजाता तामाङ र परशुराम तामाङले तामाङ भाषामा शपथ लिएका छन्। कान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी, पुष्पाकुमारी चौधरी, प्रमिलाकुमारी गच्छदार र सुरेन्द्र चौधरीले थारू भाषामा शपथ लिएका छन्।
अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुशुम महर्जन, कपा महर्जन, विराजभक्त श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, बुद्धरत्न महर्जन, मदनकृष्ण श्रेष्ठ र रुकेश रञ्जितले नेपाल भाषामा शपथ लिएका छन्।
नितिमा भण्डारी (कार्की), रबिन महतो, रवीन्द्र पटेल र राजेशकुमार चौधरीले बज्जिका भाषामा शपथ लिएका छन् भने ऐनबहादुर महरले बझाङ्गी भाषामा शपथ लिएका छन्।
माधवराज राईले बान्तावा, कन्हैया बनिया, अरविन्द साह, बुद्धिप्रसाद पन्त र सुशीलकुमार कानुले भोजपुरी भाषामा शपथ लिएका छन्। रेनुका काउचाले मगर खाम, प्रमोदकुमार महतो र राजकिशोर महतोले मगही भाषामा शपथ लिएका छन्।
त्यसैगरी, अङ्किता ठाकुर, आशा झा, उज्ज्वलकुमार झा, दीपककुमार साह, कामिनी कुमारी, जोगकुमार बरबरिया यादव, तपेश्वर यादव, नरेन्द्र साह कलवार, निशा मेहता, पुरुषोत्तम शुप्रभात यादव, मनिष झा, मातृकाप्रसाद यादव, रामजी यादव, रुवी कुमारी, शम्भुकुमार यादव, शिवशङ्कर यादव र सीताराम साहले मैथिली भाषामा शपथ लिएका छन्। कृपाराम रानाले राना थारू भाषामा शपथ लिएका छन्।
पूर्णप्रसाद लिम्बू, सन्तोष सुब्बा र सुहाङ नेम्बाङले लिम्बू मातृभाषामा शपथ लिएका छन् भने खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिएका छन्।
प्रतिनिधिसभाका सहायक प्रवक्ता (उपसचिव) अनन्तप्रसाद कोइरालाका अनुसार सुरुमा ६२ जनाले मातृभाषामा शपथ लिने जानकारी गराए पनि संख्या क्रमशः बढ्दै गएको छ र यकिन तथ्याङ्क संकलन भइरहेको छ।







