काठमाडौँ: संसदीय इतिहासमा पहिलोपटक नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी एउटै प्रतिपक्षी बेन्चमा बस्ने भएका छन्। यसअघि कहिले सत्तापक्ष त कहिले प्रमुख वा प्रतिपक्षको भूमिकामा देखिँदै आएका यी तीन दल अहिलेको प्रतिनिधिसभामा एउटै स्थानमा रहने भएका हुन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले यी तीन दललाई प्रतिपक्षी बेन्चमा राखेको हो। अघिल्ला संसद्हरूमा भने प्रायः यीमध्ये दुई दल सत्तामा हुँदा एक दल प्रतिपक्षमा रहने अवस्था देखिन्थ्यो।
विसं २०६३ मा लोकतन्त्र स्थापना भई तत्कालीन नेकपा (माओवादी) शान्ति प्रक्रियामा आएपछि बनेको अन्तरिम संसद्मा यी तीन दल एउटै बेन्चमा बसेका थिए। तर त्यसपछिका संविधानसभा र संसद्हरूमा यस्तो अवस्था देखिएको थिएन।
यसपटक भने कांग्रेस प्रमुख प्रतिपक्षको रूपमा रहनेछ भने एमाले र माओवादी पनि प्रतिपक्षमै रहने भएका छन्। तीनै दल एउटै विपक्षी बेन्चमा रहने व्यवस्था गरिएको छ।
प्रतिनिधिसभा सदस्यहरूको आज भएको शपथ ग्रहण समारोहमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराए। शपथका क्रममा यी तीन दलका सांसदहरू प्रतिपक्षी बेन्चमा उभिएर शपथ लिएका थिए।
सङ्घीय संसद् सचिवालयले दलहरूको सिट सङ्ख्याका आधारमा संसद् भवनमा बस्ने व्यवस्था मिलाएको जनाएको छ।







