काठमाडौँ: रामचन्द्र पौडेलले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
राष्ट्रपति पौडेलले उनलाई आजै बिहान नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। समारोहमा रामसहायप्रसाद यादव, सुशीला कार्की, प्रकाशमानसिंह राउत, नारायणप्रसाद दाहाल लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। साथै पूर्वप्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, उच्च सरकारी अधिकारी, सुरक्षा निकायका प्रमुख तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू पनि सहभागी थिए।
प्रधानमन्त्रीको शपथ समारोह पहिलोपटक वैदिक–सनातन परम्पराअनुसार विशेष ढंगले सम्पन्न गरिएको थियो। समारोहमा सात शङ्खबाट शङ्खनाद गरिएको थियो भने १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गरेका थिए।
यसअघि बिहीबार रास्वपाले शाहलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो।







