काठमाडौं: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले नवगठित सरकारलाई रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
बैठकमा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले नयाँ सरकार गठन भएकोमा बधाई दिँदै जनताको हितमा काम गरे पूर्ण सहयोग रहने बताए। उनले सरकारको कामकै आधारमा मूल्यांकन गरिने स्पष्ट पारे।
नेपाल कम्युनिष्ट पार्टीकी सांसद मदनकुमारी शाह गरिमाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलिदानबाट प्राप्त भएको उल्लेख गर्दै सरकारको १०० दिने कार्यसूची अपूर्ण रहेको टिप्पणी गरिन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद प्रेमप्रसाद दंगालले सरकारलाई बधाई दिँदै जनताको जीवनस्तर सुधार, राष्ट्रियता र एकता सुदृढीकरणमा ध्यान दिनुपर्ने बताए। उनले कार्की आयोगको प्रतिवेदनका आधारमा भएका पक्राउप्रति आपत्ति पनि जनाए।
जनता समाजवादी पार्टी (जसपा) नेपालकी पूजा चौधरीले सुशासनका लागि सरकारका प्रयासमा समर्थन जनाउँदै भ्रष्टाचार नियन्त्रणका कदमहरू स्वागतयोग्य रहेको बताइन्।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुरले गणतन्त्र सङ्घर्षबाट प्राप्त उपलब्धि भएको स्मरण गराउँदै बेरोजगारीजस्ता समस्या अझै समाधान हुन नसकेको बताए। त्यस्तै, राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले कार्की आयोगको छानबिन एकपक्षीय भएको आरोप लगाउँदै निष्पक्ष अनुसन्धानको माग गरे।
बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन तथा कार्यभार तोकिएको सम्बन्धी पत्र वाचन गरेर सुनाए। साथै, राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन चैत २३ गते र विषयगत समितिका सभापतिको निर्वाचन चैत २४ गते गर्ने कार्यतालिका तय गरिएको जानकारी दिए।
राष्ट्रियसभाको अर्को बैठक चैत २२ गते आइतबार दिउँसो १२ बजे बस्ने तय गरिएको छ।







