काठमाडौँ,साउन ९
नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२० मिलियन (४२ करोड) नयाँ नोट छपाइ र आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सुरक्षित ढंगले नोट छपाइ गर्न इच्छुक कम्पनीहरूलाई बोलपत्र पेश गर्न आह्वान गरेको हो।
बोलपत्र ‘सिंगल स्टेज टू इन्भेलोप’ प्रक्रियाबाट माग गरिएको छ, जसमा प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव अलग-अलग रूपमा पेश गर्नुपर्नेछ। आवश्यक बजेटको व्यवस्था भइसकेको बैंकले जनाएको छ।
सूचना अनुसार, बोलपत्र कागजात खरिद गर्न नेपाली रुपैयाँमा २० हजार, अमेरिकी डलरमा १४६, युरोमा १२६ र पाउण्डमा १०९ तोकिएको छ। इच्छुक कम्पनीहरूले उक्त रकम राष्ट्र बैंकको थापाथलीस्थित खातामा जम्मा गर्नुपर्नेछ।
बोलपत्र पेश गर्ने अन्तिम मिति २०८२ साल भदौ २३ गतेसम्म तोकिएको छ। प्रस्ताव कम्तीमा १२० दिनसम्म मान्य हुनुपर्नेछ भने कम्तिमा ४ करोड रुपैयाँ बराबरको बैंक ग्यारेन्टी पनि अनिवार्य गरिएको छ।







