काठमाडौं — नेकपा (माओवादी केन्द्र)का सांसद सुरेश आलेमगरले भिजिट भिसा प्रकरणलाई मानव तस्करीको नयाँ रूप भन्दै गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन्।
सोमबार राष्ट्रिय सभाको आकस्मिक बैठकमा बोल्दै सांसद आलेमगरले गृहमन्त्रीको व्यक्तिगत इमानदारी र नैतिकतामा प्रश्न उठाउने ठाउँ नभए पनि, उनको मातहत रहेका कर्मचारीहरूमा संलग्नता भएको शंका रहेकोले छानबिन प्रक्रियालाई निष्पक्ष र प्रभावकारी बनाउन राजीनामा अपरिहार्य भएको बताए।
उनका अनुसार प्रतिनिधिसभामा प्रतिपक्षी दलहरू संसदीय छानबिन समिति गठन भएमा गृहमन्त्रीको राजीनामा नमाग्ने विषयमा सहमतिका नजिक पुगे पनि अन्तिम निर्णय भइनसकेको अवस्था छ। यस्तो अवस्थामा छानबिनमा अवरोध नहोस् भनेर गृहमन्त्री स्वयंले मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ।
गृहमन्त्री पदमै रहेमा छानबिनमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्न सक्ने भन्दै सांसद आलेमगरले सत्य तथ्य पत्ता लगाउन र प्रक्रियालाई निष्पक्ष बनाउन राजीनामा अपरिहार्य रहेको धारणा राखेका छन्।







