रामेछाप नेकपा एमालेका अध्यक्ष पुरुषोत्तम कडेरीयाले
बागमती प्रदेशका योजना तथा बजेट पहुँच र सेटिङका आधारमा विनियोजन हुने गरेको आरोप लगाएका छन्। उनले प्रदेशका योजना कर्मचारी र मन्त्रीको सेटिङमा किनबेच हुने गरेको दाबी गरे।
जिल्ला समन्वय समिति रामेछापको वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा मन्थलीस्थित जिल्ला समन्वय समितिको सभाहलमा बोल्दै अध्यक्ष कडेरीयाले यस्तो बताएका हुन्।
उनले प्रदेशका धेरै योजना तथा कार्यक्रम आवश्यकताका आधारमा नभई पहुँचका आधारमा आउने गरेको बताए। ‘हामीले आफैं भोगेका छौँ, होटल बुकिङ गरेर बार्गेनिङ गरी योजना ल्याउने गरिएको छ,’ उनले भने।
योजना किनबेचको प्रवृत्तिले लोकतन्त्र नै धरापमा पर्ने भन्दै कडेरीयाले यसमा सुधार आवश्यक रहेको बताए। नागरिकल समक्ष गलत कामलाई ‘होइन’ भन्न सक्ने अवस्था बनाउनुपर्ने उनको भनाइ थियो।
‘नागरिकको मर्मअनुसार प्रदेश सरकार चल्नुपर्छ। त्यसका लागि स्थानीय र प्रदेश सरकारले नागरिकमुखी काम गर्नुपर्छ,’ उनले भने।
लोकतन्त्रलाई बलियो बनाउन सरकारका योजना तथा कार्यक्रम नागरिकको आवश्यकता र प्राथमिकताका आधारमा सञ्चालन हुनुपर्नेमा समेत जोड दिए।







