रामेछाप । रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले निर्माण व्यवसायीको लापरबाहीका कारण विनियोजित बजेटअनुसार काम गर्न नसकिएको बताएका छन्।
जिल्ला समन्वय समिति रामेछापको वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा मन्थलीस्थित जिल्ला समन्वय समितिको सभाहलमा बोल्दै नगर प्रमुख न्यौपानेले बजेट पर्याप्त भए पनि निर्माण व्यवसायीले समयमै काम नगर्दा विकास निर्माण प्रभावित हुने गरेको बताए।
उनले स्थानीय तहले केही गरेन भन्ने भाष्य बनाउन नहुने भन्दै रामेछाप नगरपालिकाले दिगो विकासका लागि बालमैत्री नगर घोषणा गरेको उल्लेख गरे।
नगर प्रमुख न्यौपानेले नगरपालिकाको आन्तरिक स्रोत बढाउन नसकिएकोमा चिन्ता व्यक्त गरे। नागरिक कर तिर्न इच्छुक नहुँदा स्थानीय तहको आम्दानीको मुख्य आधार अनुदानमै सीमित हुनुपरेको उनको भनाइ छ।
३५ वर्षमा के गर्यौ भनेर प्रश्न गर्नेहरूले ३५ वर्षअघि के थियो भन्ने पनि बुझ्नुपर्छ, उनले भने। ३५ वर्षमा केही भएन भन्नेहरूले त्यतिबेला आफूहरू कहाँ थिए भन्ने प्रश्नसमेत गर्नुपर्ने उनको भनाइ थियो।
न्यौपानेले विगतमा राजनीतिक दल तथा नेतृत्वले विकासका लागि गरेको कामलाई बिर्सन नहुने बताए। काम गर्ने वातावरण निर्माण गर्न विगतका योगदानलाई समेत मूल्यांकन गर्नुपर्ने उनले उल्लेख गरे।
प्रदेश तहमा बिचौलियाको प्रभाव रहेको आरोप लगाउँदै नगर प्रमुख न्यौपानेले स्थानीय तहका जनप्रतिनिधिले प्रदेशमा गएर आफ्ना आवश्यकता र समस्या राखेर केही बजेट ल्याउने प्रयास गरे पनि बिचौलियाको प्रभावका कारण अनावश्यक योजना तथा बजेट आउने गरेको बताए।
उनले स्थानीय तहका वास्तविक आवश्यकता पहिचान गरी आवश्यकतामा आधारित बजेट तथा योजना निर्माण गर्नुपर्नेमा जोड दिए।







