रामेछाप । मन्थली नगरपालिकामा ४४ जना बालबालिका अभिभावकविहीन रहेको तथ्यांक सार्वजनिक भएपछि उक्त तथ्यांकको विश्वसनीयतामाथि प्रश्न उठेको छ। अस्थायी संरक्षणदेखि पारिवारिक पुनःएकीकरणसम्म भन्ने अवधारणामा आधारित परियोजनाअन्तर्गत सार्वजनिक गरिएको तथ्यांकलाई मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले नै अस्वीकार गरेका छन्।
चाइल्ड नेटवर्कको स्रोत साझेदारी, हिमाली नवीन समाजको प्राविधिक साझेदारी तथा सृजनशील युवा समाज रामेछापको सहजीकरणमा सञ्चालन हुन लागेको परियोजनाको प्रारम्भिक तथ्यांकमा मन्थली नगरपालिकाभित्र ४४ जना बालबालिका अभिभावकविहीन रहेको उल्लेख गरिएको छ।
मंसिर ८ गते मन्थली नगरपालिकाको आयोजनामा आयोजित परिचयात्मक कार्यक्रममा रामेछापका आठवटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र जिल्ला समन्वय समितिका प्रतिनिधिको सहभागिता थियो। कार्यक्रममा प्रस्तुत तथ्यांकमाथि केही सहभागीले प्रश्न उठाएका थिए।
मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठले नगरपालिकामा ४४ जना बालबालिका अभिभावकविहीन नरहेको जिकिर गर्दै तथ्यांकको आधारबारे प्रश्न उठाए। बालमैत्री नगरपालिकामा यति ठूलो संख्यामा बालबालिका अभिभावकविहीन रहेको तथ्यांक कसरी आयो भन्ने उनको प्रश्न थियो।
जवाफमा सृजनशील युवा समाज रामेछापका अध्यक्ष भुवन श्रेष्ठले वडा अध्यक्षहरूले गरेको सिफारिसका आधारमा उक्त तथ्यांक सार्वजनिक गरिएको स्पष्ट पारे।
तर, वडाको सिफारिसमा परेका सबै बालबालिका कानुनी रूपमा अभिभावकविहीन हुन् कि होइनन् भन्ने विषयमा थप प्रश्न उठेको छ। मन्थली नगरपालिका–३ का वडा अध्यक्ष गोपालकृष्ण थापाले काका–काकीको संरक्षणमा रहेका बालबालिकालाई समेत वडाको सिफारिसमा समेटिएको बताए।
मन्थली नगरपालिका–८ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल श्रेष्ठले भने सिफारिस र तथ्यांकको आधारबारे स्पष्ट धारणा राखेनन्।
काका काकीको संरक्षणमा रहेका बालबालिका पनि अभिभावकविहीन हुन्?
बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार बालबालिकाको संरक्षण र हेरचाहको जिम्मेवारी बाबुआमामा मात्र सीमित छैन। परिवारका अन्य सदस्य तथा काका–काकीको संरक्षणमा रहेका सबै बालबालिकालाई स्वतः अभिभावकविहीन मान्न मिल्दैन। उनीहरूका बाबुआमाको अवस्था, पारिवारिक संरक्षणको स्थिति र बालबालिकाले पाइरहेको हेरचाहसमेत अध्ययन गर्न आवश्यक हुन्छ।
बालबालिकाको संरक्षणका लागि सञ्चालन हुने परियोजनामा तथ्यांकको शुद्धता अत्यन्त महत्त्वपूर्ण हुन्छ। वास्तविक रूपमा संरक्षण आवश्यक भएका बालबालिकाको पहिचान गर्नु जति आवश्यक छ, पारिवारिक संरक्षणमा रहेका बालबालिकालाई गलत रूपमा अभिभावकविहीनको सूचीमा राख्नबाट जोगाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ।
मन्थली नगरपालिकामा सार्वजनिक गरिएको ४४ जनाको तथ्यांक कुन आधारमा तयार पारिएको हो? कति जना बालबालिकाका बाबुआमा दुवै छैनन्? कति जना बाबुआमा हुँदाहुँदै पनि आफन्तको संरक्षणमा छन्? तथ्यांक तयार गर्न स्थलगत अध्ययन गरिएको हो वा वडा कार्यालयको सिफारिसलाई मात्र आधार बनाइएको हो? यी प्रश्नको जवाफ सम्बन्धित संस्थाले दिन आवश्यक देखिन्छ।
नगरपालिकाले समेत तथ्यांकको पुनःजाँच गरी वास्तविक अवस्था सार्वजनिक गर्नुपर्ने देखिन्छ।






