गजल
आकाश पाताल छाँटी दिन्छन के लाउनु पिरती ।
छिन छिनमा ढाँटी दिन्छन के लाउनु पिरती ।।
अस्ति अर्कै, हिजो अर्कै ,आज फेरि अर्कै ।
भोली अर्कै आँटी दिन्छन के लाउनु पिरती ।।
पिरतीमा सबै खोली केहि नलुकाउँ है भन्यो ।
उफ्री उल्टै झाँटी दिन्छन् के लाउनु पिरती ।।
सादा हिड्छस्,केहि फेर्दैनस जोरीपारी भन्छन् ।
आँफै मात्र ठाँटी दिन्छन् के लाउनु पिरती ।।
कहिलेकाहीँ निहुँ खोज्दै घुर्की लाउँ त भन्यो ।
मार भन्दै घाँटी दिन्छन् के लाउनु पिरती ।।