यतिबेला प्रेम सप्ताह चलिरहेछ । अन्य मुलुकमा यसलाई निकै धुमधाम साथ मनाउने गरेता पनि नेपाली समाजमा भने त्यति प्रचलित छैन यद्यपि शहरमा बस्ने अधिकांश युवायुवतीहरुले भने यसलाई सिको गरेको देखिन्छ । यो आधुनिकता बिस्तारै गाउँ मा पनि पुग्दैछ । क्षेत्र प्रताप अधिकारीले लेखेको कुन्ती मोक्तानले गाएको (गोठालो जाँदा लाएको माया ,काठमाडौ जाँदा छुटेछ) भन्ने गित जस्तै यो मोर्डन लभको बारेमा के कुरा गर्नु । पुरानो ट्रेडिस्नल लभ इज बेटर हामी पुरानो जमाना याद गरौं।
म तिम्रो छिमेकी होइन,
तिमी पारी गाउँकि हौ,
म वारि गाउँको,
हामी माथिको लेकमा गोठालो जाँदाको साथी,
म तिम्रो गट्टा खेल्दाको साथी,
तिमिसँग लुकामारी खेल्दाको साथी,
पातका सुशेलिहरु,
कुरै कुरामा दिन बितेको,
बाख्राले अरुको अन्नबाली खाएको,
म तिम्रो साथी,तिमी मेरो साथी,
हामी देउराली भञ्ज्याङ्को साथी,
चराहरुले पनि हामिलाई गिज्याइरहेछन,
उ आज एक्लै गोठालो गएकी छ,
म आज बेसि खेतको काममा छु ।
मलाई केही छुटे जस्तो लागि रहेछ ।
मलाई उसको यादले पोलि रहेछ ।
उ आज लालिगुराँसको थुङ्गाहरुसँग,
एक्लै कसरी खेल्दै होलि,
वनभरी फुलेका राता फूलहरु,
टाउको भरी सिउरेर मलाई देखाउथी,
आज उसलाई फूलकुमारी कसले भनेको होला ।
सायद उसँग थाहै नपाई प्रेम भइ गएछ ।
अब तिम्रो आमाले घाँस काट्न अर्हाउदा,
गोठालो नै जाने बहाना बन्ने मन छ ।
तिमी हिड्ने बाटोको फूल बन्न नसकुँला,
तिम्रो पैतालामा बिझेको काँडा पन्छाउने मन छ ।
तिम्रा हरेक थकानहरुमा,
कुनै चौरातिको बुडो रुख हुने मन छ ।
जहाँ तिमी अडेस लाग्नेछौ ।
तिमी टाउकोभरी फूल सिउरिदा साह्रै सुन्दर देखिन्छ्यौ ।
मलाई तिम्रो निम्ति वसन्त बनेर फुल्ने मन छ ।
हरेक यामहरुमा तिमिसँगै मुस्कुराउने मन छ ।
मनै त हो,यो मन तिमिलाई पछ्याइ रहन्छ ।
तिमिलाई पाउने चाहना,
पाएपछि पाइरहने चाहना,
पाएपछि कहिल्यै नगुमाउने चाहना,
यो चाहनाहरुको चाहनाले पनि तिमिलाई चाहन्छ ।
तिमिलाई नै प्रेम गर्छ ।