काठमाडौं । केपी शर्मा ओली र प्रचण्ड बीच भेटवार्ता भएको छ । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेट लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको हो ।
सुरुमा ओली र प्रचण्डबीच एक्लाएक्लै भेट भएपछि दुबै दलका अन्य नेताहरु सहित छलफल भएको छ । छलफलमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी छन् भने नेकपा माओवादी केन्द्रबाट नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्तिबहादुर बस्नेत सहभागी छन् ।
त्यस्तै, यो छलफल भन्दा पहिले प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग संसद भवन नयाँ बानेश्वरमा एमसीसी पारित गर्न संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउनका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताएका हुन् ।
अब एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीको प्रस्तावबारे पार्टीमा छलफल गरेर पुन कुराकानी गर्ने जवाफ दिने बताएका छन् । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बिहीबार साँझ पुन छलफल हुनेछ ।
२३ भदौदेखि संसद अवरोध गर्दै आएको एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई पार्टीको केन्द्रीय समितिले गरेको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै संसद अवरोध गर्दै आएको छ । १४ सांसदलाई कारबाही गर्नुपर्ने वा सभामुखले राजीनामा दिनुपर्ने माग एमालेले राखेको छ ।