रामेछाप, २४ बैशाख : सत्तारूढ नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसबाट एमालेसँगको सत्ता–सहकार्यमा कुनै पनि प्रकारको विश्वासघात नहुने स्पष्ट पारेका छन्।
रामेछापमा आयोजित कांग्रेस कार्यकर्ता भेटघाट कार्यक्रममा सिटौलाले एमालेलाई धोका दिने कुरा नसोचिएको भन्दै सहकार्यको प्रतिबद्धता दोहोर्याएका हुन्। “हामीले एमालेसँग मिलेर बनेको सरकारलाई धोका दिनेछैनौं,” उनले भने, “यो सहकार्य २०८४ को निर्वाचनसम्म नै कायम रहनेछ।”
सिटौलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कांग्रेसलाई धोका दिएपछि एमालेसँग मिलेर सरकार बनाउने वातावरण तयार भएको स्मरण गराउँदै हालको सरकार परिवर्तन हुने सम्भावना न्यून रहेको दाबी गरे।







