पुष्पा प्राकृति चौलागाईं, इलाम
चैत–बैशाखको बसन्तसँगै उड्थ्यो बतास,
धूलोको सुगन्धमा हराउँथ्यो मेरो बाल्यकाल।
आज पनि त्यही पवनको स्पर्शमा
फर्कन्छ साना गोरेटोहरू,
जहाँ म दौडन्थेँ नांगो पाइला।
जसरी बदलिन्छ मौसम,
त्यसरी नै बदलिएको छु म पनि —
तर सम्झनाहरू स्थिर छन्
जेठ–असारको लयमा गुञ्जिन्छन्
झ्याउकिरीका गीत,
लामखुट्टेका भुनभुनाहट,
र माटोको त्यो गन्ध —
जहाँ हिलोमा लड्दै
गैरी खेतमा धान रोपिन्थ्यो।
बारीमा आमाले कोदो रोपिरहँदा
म टोकरीभित्र सपना बोक्थेँ —
र त, आज पनि त्यो क्षण
मनभित्र उस्तै छ।
साउन–भदौको घाम,
खोला–खोल्साको हिलो
र चिसो पानीमा नाङ्गा खुट्टा —
यी सबै
मनका कुनामा बाँचिरहेछन्।
त्यसपछि
कार्तिक, मङ्सिर, पुस र माघसँगै
आउँथे चाडपर्वहरू,
जुन आज पनि
मेरो सम्झनाको घरमा उज्यालो भएर आउँछन्।
यसो गर्दै गर्दै,
१२ महिना बित्थ्यो बाल्यकाल —
र आज…
त्यो समय मौसम बनेर
मनमा फेरि–फेरि गुञ्जन्छ।







