स्पेन, १९ असार:
प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्पेनको मेड्रिडमा अवस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको अवलोकन भ्रमण गर्नुभएको छ।
प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागत गर्दै अत्याधुनिक रङ्गशालाको विभिन्न संरचना र सुविधाको अवलोकन गराउनुभयो। भ्रमणपछि प्रधानमन्त्री ओलीले आफू रियल मेड्रिडको फ्यान भएको बताउँदै यति सुव्यवस्थित र भव्य रङ्गशाला प्रत्यक्ष अवलोकन गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो।
यस अवसरमा निर्देशक मिगेलले प्रधानमन्त्री ओलीलाई क्लबको जर्सी उपहार दिनुभएको थियो। साथै, मिगेलले नेपाली विद्यार्थीहरूलाई रियल मेड्रिड क्लबको प्रशिक्षण र भर्नामा सहभागिता जनाउन प्रोत्साहित गर्नुभएको छ।
प्रधानमन्त्री ओली स्पेनको सेभियामा संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त सम्मेलनमा सहभागी भई हाल मेड्रिडमा रहनु भएको हो। मेड्रिडमा आयोजित विभिन्न कार्यक्रमहरूमध्ये आजको रङ्गशाला अवलोकन भ्रमणमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानी मन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, र स्पेनका लागि नेपाली राजदूत शनिल नेपालसहित अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।







