काठमाडौं, ५ साउन ।
तीजको रौनक चुलिंदै जाँदा लोकसंगीतको बजार तातिएको छ। तीज लक्षित गीतहरू एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन्। यही क्रममा गायिका सञ्जु न्यौपाने र गायक पुस्कल शर्माको सुमधुर स्वरमा सजिएको नयाँ तीज गीत ‘निलो आकासैमा बादलु’ सार्वजनिक भएको छ।
लोकप्रिय गीतकार तथा संगीतकार रमेश परियारको शब्द तथा संगीतमा तयार भएको यस गीतले तीजको मौलिक भाव, उत्साह र रमाइलोपन बोकेको छ। गीतको भिडियोमा लोमाश शर्मा, आशा भुसाल, सञ्जु न्यौपाने, सन्तोष पाण्डे लगायतका कलाकारहरूको जीवन्त अभिनय देख्न सकिन्छ।
भिडियो निर्देशन निरेन श्रेष्ठले गरेका छन् भने छायांकन चक्रबहादुर बरालको रहेको छ। सम्पादन र कलरिङ विष्णु खड्काले गरेका हुन्। गीतको दृश्य सौन्दर्यमा मेकअप कलाकार कविता तोलाङ्गीको समेत विशेष योगदान छ।
लोकशैलीमा आधारित भए पनि आधुनिक स्वाद मिसिएको यो गीत गायिका सञ्जु न्यौपानेको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतमा मौलिकता, समसामयिक शैली र दर्शक–श्रोतालाई बाँध्ने आकर्षण मिसिएकोले यसले छोटो समयमा राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ।







