प्रधानमन्त्री सुशीला कार्कीले मौसम प्रतिकूल भएमा हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराइने बताएकी छन्।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थित कावासोती नगरपालिका–१, हात्तिखोरमा आयोजित राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनका लागि सरकारले आवश्यक सबै सहयोग गर्ने स्पष्ट पारिन्। उनले विशेषगरी हिमाली जिल्लामा मौसम अनुकूल नभए दोस्रो चरणमा निर्वाचन गराउने तयारी रहेको बताइन्।
कम मतदाता भएका स्थानमा सवारीसाधन प्रयोग गरेर भए पनि मतदाता ओसारेर निर्वाचन सम्पन्न गराइने उल्लेख गर्दै उनले अत्यन्तै असहज अवस्था आएमा मात्र दोस्रो चरणमा निर्वाचन गराउने विकल्पमा जान सकिने बताइन्। अहिलेसम्म कुनै पनि कारणले निर्वाचन सार्ने विषयमा प्रवेश नभएको उल्लेख गर्दै उनले सबैलाई ढुक्क भएर आगामी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुन आग्रह गरिन्।
समयमै निर्वाचन सम्पन्न भई नवनिर्वाचित प्रतिनिधिले राज्य व्यवस्था सम्हालेर देशलाई नयाँ दिशातर्फ अघि बढाउनेमा आफू विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले बताइन्। “शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन हामीले शत प्रतिशत प्रयास गरेका छौँ,” उनले भनिन्।
विशेष परिस्थितिमा हुन लागेको निर्वाचन भएकाले केही चुनौती देखिए पनि ती समाधान गर्दै सरकारले निर्वाचन सम्पन्न गराउने प्रधानमन्त्री कार्कीको भनाइ थियो।







