रामेछाप, मंगलबार रामेछापको मन्थली नगरपालिका–६ भएको बस दुर्घटनामा ज्यान गुमाएकाका आफन्तहरूले शुक्रबार यातायात सेवा अवरुद्ध गरेका छन्।
काठमाडौँबाट खुकोट हुँदै ओखलढुङ्गाको पोल्थलीका लागि छुटेको नेपाल अरनिको यातायात सेवा प्रालिको बा ६ ख ३६५८ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेर १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३ जना बेपत्ता र ८ जना घाइते भएका थिए।
दुर्घटनापछि आक्रोशित स्थानीयले काठमाडौँबाट लिखु तामाकोशी गाउँपालिकाको तिल्पुङ हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको सोही प्रालिको अर्को बस बा ६ ख ३८७६ लाई रोकेका छन। चालक श्यामबहादुर श्रेष्ठ र सहचालक राजेन्द्र बुढाथोकीलाई स्थानीयले नियन्त्रणमा लिएको जनाइएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। गाडी रोक्नु हुँदैन हामी सहजीकरणमा लागेका छौँ गाडी सुरक्षामा प्रहरी छ सहजीकरण गर्छौं प्रहरी निरीक्षक राजन तिमल्सिनाले बताएका छन।
बुधबार मध्यराति मृतकका आफन्त र स्थानीय प्रशासनबीच अवरुद्ध सडक सञ्चालन गर्ने, मृतकको शव बुझ्ने तथा कानुनबमोजिम क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको थियो। सहमतिपछि शुक्रबार बिहान केही समय यातायात सञ्चालन भए पनि पुनः बस रोकिएको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार काठमाडौँबाट यात्रु लिएर मन्थलीतर्फ आएका अरनिको यातायातका थप ३ वटा बसहरू दुर्घटनास्थल नजिकै रोकिएका छन्। हराइरहेकाको खोजी कार्य जारी छ।
यसैबीच नेपाल अरनिको यातायात सेवा प्रालिले सूचना जारी गर्दै काठमाडौँ–खुकोट–मन्थली रुटमा सञ्चालन हुने सम्पूर्ण बसहरू अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको जनाएको छ। कम्पनीले दुर्घटनास्थलमा सुरक्षा जोखिम रहेको उल्लेख गरेको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रामेछाप, इलाका प्रहरी कार्यालय धोबी र प्रहरी चौकी खनिबाट सुरक्षाकर्मी खटिएका छन्।
दुर्घटनापछि रामेछापसहित आसपासका क्षेत्रमा तनावको अवस्था रहेको छ भने यात्रुहरू अलपत्र परेका छन्।







