काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रूपमा निर्वाचन प्रचार–प्रसार सुरु गर्न पाइने भएको छ।
कानुनी व्यवस्थाअनुसार मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न तथा सञ्चारमाध्यममार्फत निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने प्रावधान छ। सोहीअनुसार आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल र उम्मेदवारहरूले प्रचार–प्रसार गर्न सक्ने छन्।
निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राख्दै दल, उम्मेदवार तथा अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी प्रचार–प्रसार गर्नुपर्ने जनाइएको छ। यस अवधिमा राजनीतिक दलका उम्मेदवारहरूले तोकिएको मापदण्डभित्र रही औपचारिक रूपमा मतदातासमक्ष मत माग्न पाउनेछन्।
निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनका लागि विभिन्न संयन्त्र परिचालन गरिरहेको जनाएको छ। आयोगले आचारसंहिता उल्लङ्घन भएको अवस्थामा सम्बन्धित दल वा उम्मेदवारलाई स्पष्टीकरण सोध्ने र आवश्यक परे कानुनी कारबाही अघि बढाउने स्पष्ट पारेको छ।
आचारसंहिता राजनीतिक दल तथा सरोकारवाला पक्षसँग व्यापक छलफलपछि तर्जुमा गरिएको स्मरण गराउँदै आयोगले सबै दलले यसको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाइसकेको जनाएको छ।
आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलताको नीति अपनाएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार उल्लङ्घनको प्रकृति हेरी सचेत गराउनेदेखि दण्ड–जरिवाना र उम्मेदवारी खारेजीसम्मको कानुनी व्यवस्था छ।
यसैगरी, दल र उम्मेदवारले तोकिएका मापदण्डका आधारमा पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यममार्फत विज्ञापनबाट प्रचार–प्रसार गर्न सक्नेछन्। आमसभा र कोणसभा गर्दा मञ्च तयारीलगायतका खर्च विवरण सम्बन्धित उम्मेदवारले स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ।
निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल वा अनलाइन माध्यममार्फत फैलाइने मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्तिमा पूर्ण प्रतिबन्ध लगाइएको आयोगले उल्लेख गरेको छ।







