नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा रामेछापबाट केन्द्रीय सदस्य पदमा ६ जनाले उम्मेदवारी दिने भएका छन्। केन्द्रीय सदस्यका लागि बिनिता खड्का, रामचन्द्र खड्का, लबश्री न्यौपाने, ज्योति सुनुवार, उत्तम कार्की र प्रकाश कटुवालले उम्मेदवारी दिने तयारी गरेका हुन्।
बिनिता खड्का खुला महिलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छन्। उनी विशेष महाधिवेशनदेखि नै केन्द्रीय सदस्य रहँदै आएकी छन्।
रामचन्द्र खड्का खस–आर्यतर्फबाट उम्मेदवार बन्ने भएका छन्। उनी रामेछाप कांग्रेसका पूर्व जिल्ला सभापति हुन्। त्यस्तै, लबश्री न्यौपाने बागमती भूगोलतर्फबाट उम्मेदवारी दिने तयारीमा छन्। न्यौपाने पनि रामेछाप कांग्रेसका पूर्व जिल्ला सभापति हुन्।
ज्योति सुनुवार अल्पसंख्यक महिलातर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएकी छन्। उत्तम कार्की ३५ वर्षमुनिको युवा समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन्। उनी नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भइसकेका छन्।
त्यस्तै, चर्चित लोकदोहोरी गायक प्रकाश कटुवालले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। रामेछापबाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि उनले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्।
कटुवालले पार्टी संगठनलाई थप सुदृढ र चलायमान बनाउने, युवाको सहभागिता बढाउने तथा रामेछापका जनताको आवाज पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्याउने उद्देश्यले उम्मेदवारी दिन लागेको बताएका छन्।
यससँगै रामेछापबाट कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि खुला, महिला, भूगोल, खस–आर्य, अल्पसंख्यक महिला र युवा समूह गरी विभिन्न क्लस्टरबाट ६ जनाको उम्मेदवारी रहने भएको छ।






