नुवाकोट । रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण विद्यालय भवन गुमाएको नुवाकोटको विदुर नगरपालिका–११ स्थित त्रिभुवन त्रीशुली माध्यमिक विद्यालयका १ हजार ४३७ विद्यार्थीलाई बास नेपालको पहलमा १० लाख रुपैयाँभन्दा बढी मूल्यका सहयोग सामग्री वितरण गरिएको छ।
एफकेबी युकेको सहयोग तथा जनजीवन फाउन्डेसन भारत र नेपालगन्जस्थित विभिन्न संघसंस्था एवं व्यक्तिहरूको सहकार्यमा बास नेपालले विद्यालयमै पुगेर विद्यार्थीलाई आवश्यक शैक्षिक, स्वास्थ्य तथा दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको हो।
एफकेबी युकेको सहयोगमा २५० छात्रालाई महिनावारीका समयमा प्रयोग गर्न मिल्ने पुनः प्रयोगयोग्य प्याडसहितको ‘फ्रिडम किट ब्याग’ वितरण गरिएको थियो। त्यस्तै, ३०० जना छात्रछात्रालाई दैनिक उपभोग्य सामग्री, स्वास्थ्य सामग्री तथा प्राथमिक उपचारका सामग्री समेटिएको ‘हाइजिन किट’ प्रदान गरिएको थियो।
यसैगरी, जनजीवन फाउन्डेसन भारत तथा नेपालगन्जका विभिन्न संस्था र व्यक्तिहरूको सहयोगमा १ हजार २८६ थान स्टेशनरी सामग्री, ४७२ जना विद्यार्थीलाई लत्ताकपडा, १३७ थान भाँडाकुँडा, २३ थान ओढ्ने–ओछ्याउने सामग्री र ५१ जनालाई विद्यालय झोला वितरण गरिएको थियो।
बास नेपालका अनुसार उक्त सहयोग सामग्रीको कुल मूल्य १० लाख रुपैयाँभन्दा बढी रहेको छ।
विदुर नगरपालिका–१ का वडाध्यक्ष लेलिन रञ्जितको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष शर्मिला श्रेष्ठको अध्यक्षतामा सहयोग सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष शिवराज बोगटी, प्रधानाध्यापक राजेन्द्र दवाडी, नेपाल युवा परिषद्का अध्यक्ष सरोज बानियाँ, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, बागमती प्रदेश इन्चार्ज सागर बोहरा, कार्यक्रम अधिकृत रविन्द्र बोहरा, जनसम्पर्क अधिकृत माधव कार्की, शिक्षा अधिकृत मीना घर्तीमगर तथा जनसम्पर्क सहायक सुमिता कुमाललगायतको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष रञ्जितले विपद्का बेला विद्यार्थीलाई सहयोग गरेकोमा बास नेपाल तथा सहयोगी संस्थालाई धन्यवाद दिँदै विद्यालयको भौतिक संरचना पुनर्निर्माणका लागि समेत सहयोग गर्न आग्रह गरे। प्रधानाध्यापक दवाडीले सहयोगप्रति आभार व्यक्त गर्दै बाढीबाट प्रभावित बालबालिकालाई मनोसामाजिक सेवा प्रदान गर्न बास नेपालसँग आग्रह गरे।
बाढी आउन लागेको मौखिक सूचना प्राप्त भएपछि त्रिशूली नदी किनारमा रहेको उक्त विद्यालयले १ हजार ६०० भन्दा बढी विद्यार्थीलाई घर पठाएको थियो। विद्यालयले समयमै विद्यार्थीलाई सुरक्षित स्थानमा पठाएकाले मानवीय क्षति हुन पाएन। विद्यार्थी र शिक्षक घर पुगेको केही समयमै बाढीले विद्यालय भवन पूर्णरूपमा बगाएको थियो।
विद्यालय भवन पूर्णरूपमा बगाएपछि बन्द भएको पठनपाठन विदुर नगरपालिका–१ कोलोनीस्थित यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको भवन निर्माण शाखाको भवनमा अस्थायी रूपमा सञ्चालन हुँदै आएको छ। विद्यालयले असोज १ गतेदेखि उक्त भवनबाट पठनपाठन सुरु गरेको हो।
बास नेपालको टोलीले अस्थायी रूपमा सञ्चालन भइरहेको विद्यालयमै पुगेर सहयोग सामग्री हस्तान्तरण गर्नुका साथै विद्यार्थीलाई मनोसामाजिक शिक्षा र महिनावारीसम्बन्धी सचेतना कार्यक्रमसमेत सञ्चालन गरेको थियो।
मनोसामाजिक शिक्षा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह र बागमती प्रदेश इन्चार्ज सागर बोहराले प्रदान गरेका थिए भने महिनावारी शिक्षासम्बन्धी सहजीकरण शिक्षा अधिकृत मीना घर्तीमगरले गरेकी थिइन्।
सहयोग सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू खुसी भएका थिए। उनीहरूले आफूहरूलाई आवश्यक सामग्री प्राप्त भएको प्रतिक्रिया दिएका थिए।






