जुन दिनदेखी न घाट हुनेछ, न घर हुनेछ ।
त्यो दिन मृत्युलाई जिन्दगीसँग डर हुनेछ ।।
तिमी फूलको माला लिएर दोबाटोमा पर्खिनु ।
त्यही मेरो लासको दर्शन गर्ने अवसर हुनेछ ।।
संस्कार, संस्कृति, धर्म, कर्म भुल्दैछ मान्छेले ।
लाग्छ भोलीको दिनमा मान्छे नै पत्थर हुनेछ ।।
यसकारण भन्छु प्रेम नगर्नुस् , प्रेममा नपर्नुस् ।
नत्र आँखा नदि हुनेछन् परेला बगर हुनेछ ।।
आफू बसेको मुटुमा,आऊ आफैं छुरा रोपिदेऊ ।
त्यसपछि नै तिम्रो र मेरो हिसाब बराबर हुनेछ ।।
सुशीला श्रेष्ठ -दोलखा






