काठमाडौँ: प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसदीय अभ्यासलाई समृद्ध बनाउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।
संसदीय मामिला पत्रकार समाजले आज यहाँ आयोजित कार्यक्रममा ‘संसदीय पत्रकारिताः अवधारणा र अभ्यास’ विमोचन गर्दै उहाँले संसदीय गतिविधिलाई जनतामाँझ पु¥याउन सञ्चार क्षेत्रको भूमिका अहम् रहेको उल्लेख गर्नुभयो ।
शासन प्रणालीका केही कमजोरीलाई देखाएर व्यवस्थामाथि नै प्रश्न उठाइएका बेला यसबारे जनतालाई स्पष्ट पार्ने जिम्मेवारी सञ्चार क्षेत्रको पनि भएको उहाँको भनाइ थियो ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले समाजद्वारा प्रकाशित पुस्तक संसदीय विषयमा जानकारी राख्ने र स्वयम् सांसदका लागि पनि उपयोगी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुस्तकमा नेपालको संसदीय प्रणालीको खुलापन र विश्वमा यसको अभ्यासबारे थप विषय आउन सकेको भए अझ राम्रो हुने थियो ।”
अध्यक्ष दाहालले आलोचना जहिले पनि रचनात्मक हुनुपर्ने र त्यसले दिने सन्देश पनि सकारात्मक हुनुपर्ने धारणा राख्नुभयो ।







