काठमाडौँ: पश्चिम तराईका जिल्लाहरूमा केही दिनसम्म अत्यधिक गर्मी र तातो हावाको लहर (लू) जारी रहने सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र डोटीलाई उच्च सतर्कतामा राखिएको छ भने कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा र सुर्खेत लगायतका जिल्लालाई अद्यावधिक रहनुपर्ने सूचीमा राखिएको छ। ती क्षेत्रमा तापक्रम धेरै स्थानमा ४० डिग्री सेल्सियस वा सोभन्दा माथि पुगेको जनाइएको छ।
अत्यधिक गर्मीका कारण थकान, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने, बेहोस हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्।
लूबाट बच्न प्राधिकरणले चर्को घाम लागेको समयमा घरभित्रै बस्न, बाहिर निस्कनै परे टाउको ढाक्ने पातलो कपडा प्रयोग गर्न, प्रशस्त पानी पिउन तथा कागती पानी र फलफूल सेवन गर्न आग्रह गरेको छ। साथै, बालबालिकालाई घाममा खेल्न नदिन र खेतबारीका काम बिहान वा साँझको समयमा मात्र गर्न सुझाव दिइएको छ।






