काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको सिद्धान्त, मूल्य र आदर्श केवल कांग्रेसका लागि मात्र नभई सम्पूर्ण राष्ट्रकै लागि दिशानिर्देशक भएको बताए।
बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालद्वारा बसुन्धारामा आज बिहान आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले बीपी कोइरालाको जीवन संघर्ष, त्याग र बलिदानको उदाहरण भएको स्मरण गरे।
“बीपी कोइरालाको राजनीतिक र साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि पनि महत्वपूर्ण मार्गदर्शन हो,” देउवाले भने।
उहाँले बीपीले प्रतिपादन गरेका सिद्धान्त र मूल्यहरूले नै कांग्रेसलाई आजको अवस्थामा पुर्याएको उल्लेख गरे।






