काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ले सरकारले गरेका कामका आधारमा कांग्रेसले संसद्मा आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन्।
आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रमुख प्रतिपक्षी दलका रूपमा कांग्रेसले सरकारका सकारात्मक काममा समर्थन र सहयोग गर्ने स्पष्ट पारे। “जनता, लोकतन्त्र, जनजीविका र सुशासनका पक्षमा भएका काममा कांग्रेसको असहयोग हुँदैन,” उनले भने।
फरक प्रसङ्गमा उनले कांग्रेसले संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने प्रयास असफल भएको जानकारी दिए। अब सर्वसम्मत वा निर्वाचन प्रक्रियाबाट वैशाख ४ गते नेता चयन गरिने उनको भनाइ छ।
पार्टीभित्र एकता कायम गर्दै अघि बढ्ने नेतृत्वको चाहना रहेको उल्लेख गर्दै उनले वर्तमान समस्याको दीर्घकालीन समाधान १५औँ महाधिवेशन भएको बताए। “अब अधिवेशनतिर लागौँ, अदालततिर होइन,” उनले जोड दिए।






