काठमाडौँ । नेकपा (एमाले) को ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन’ प्रतिवेदनले अध्यक्ष केपी शर्मा ओलीलाई सक्रिय नेतृत्वबाट हटेर अभिभावकीय भूमिकामा बस्न सुझाव दिएको छ।
देशभरका अगुवा कार्यकर्ताबाट संकलित सुझावका आधारमा तयार प्रतिवेदनमा निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हारको मुख्य कारण नेतृत्व रहेको उल्लेख गर्दै ओलीले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालिएको छ।
प्रतिवेदनमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका लागि अध्यक्ष ओलीले अभिभावकीय वा संरक्षकको भूमिका लिनुपर्ने भावना कार्यकर्तामा बलियो बन्दै गएको उल्लेख छ।
यस्तै, २०६४ को निर्वाचनमा पराजयपछि तत्कालीन एमाले महासचिव माधवकुमार नेपालले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको उदाहरण प्रस्तुत गर्दै अहिलेको निर्वाचन परिणाम अझ गम्भीर भएकाले मुख्य नेतृत्वले पनि त्यस्तै जिम्मेवारी लिनुपर्ने सुझाव प्रतिवेदनमा समेटिएको छ।







