काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धार टोली र विशेषज्ञ परिचालन गर्न सरकारसँग माग गरेको छ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्दै उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सहयोग लिन आग्रह गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका क्रममा आङदेम्बेले सरकारले तत्काल गर्नुपर्ने काम समेटिएको सुझावसमेत प्रधानमन्त्रीलाई दिएका छन्। उनले विशेषगरी सुरुङ, भग्नावशेषलगायतका स्थानमा नागरिक फसेको हुन सक्ने भएकाले उनीहरूको जीवितै उद्धारका लागि अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा प्राविधिक विशेषज्ञको सहयोग लिनुपर्नेमा जोड दिएका छन्।
‘सुरुङ, भग्नावशेष वा अन्य स्थानमा नागरिक फसेको सम्भावना रहेकाले उनीहरूको जीवितै उद्धारका लागि आवश्यकताअनुसार अन्तर्राष्ट्रिय उद्धारकर्ता तथा विशेषज्ञको सहयोग लिइयोस्,’ आङदेम्बेले प्रधानमन्त्रीसमक्ष राखेको सुझावमा उल्लेख छ।
यसअघि आङदेम्बेले बाढी तथा पहिरोबाट प्रभावित नुवाकोटलगायतका क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा उनले गृहमन्त्री सुधन गुरुङसँग समेत भेट गरी उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिएका थिए।
काठमाडौं फर्किएपछि प्रधानमन्त्री शाहसँग भेट गरेका आङदेम्बेले हवाई उद्धारलाई थप प्रभावकारी बनाउन पनि आग्रह गरेका छन्।
उनले रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्नुपर्ने सुझाव दिएका छन्। नेपाली सेनाले गरिरहेको उद्धार कार्य प्रशंसनीय रहे पनि प्रभावित जिल्लामा उद्धारलाई तीव्र बनाउन छुट्टाछुट्टै हवाई उद्धार संयन्त्र आवश्यक रहेको उनको भनाइ छ।






