काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य जारी रहँदा सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट सुरुङसम्बन्धी विज्ञहरूको दुईवटा टोली नेपाल आउने भएका छन्।
भदौ १० गते आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा केही व्यक्ति फसेका छन्। उनीहरूको उद्धारका लागि नेपाली सुरक्षाकर्मी तथा उद्धार टोलीले निरन्तर काम गरिरहेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि उत्खनन जारी छ। हालसम्म २० फिटभन्दा बढी उत्खनन भइसकेको र कामको प्रगति सकारात्मक रहेको जनाइएको छ।
उद्धार टोलीले दिउँसो २ बजेसम्म सुरुङको मुखसम्म पुग्ने अनुमान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
यसैबीच, बाढीका कारण पुरिएका वा बगाइएका अन्य जलविद्युत् आयोजनाका क्षेत्रमा समेत उद्धार तथा खोजी कार्य जारी छ। यही अवस्थालाई मध्यनजर गर्दै सुरुङ उद्धारमा प्राविधिक सहयोग पुर्याउन चीनबाट दुईवटा विज्ञ टोली नेपाल आउन लागेका हुन्।







