मन्थली, रामेछाप मन्थली नगरपालिका–५, तत्कालीन सुनारपानी गाविसमा जन्मिएका महेश कार्की पछिल्लो समय नेपाली कांग्रेसको स्थानीय राजनीतिमा परिचित नाम बनेका छन्। पेशाले शैक्षिक परामर्शदाता रहेका कार्की सामाजिक सेवामा पनि निरन्तर सक्रिय रहँदै आएका छन्।
सालिन स्वभाव, परिपक्व व्यवहार र सबैसँग सहज रूपमा घुलमिल हुन सक्ने क्षमता कार्कीको राजनीतिक पहिचान बनेको उनका निकटस्थहरू बताउँछन्। युवा पुस्तादेखि ज्येष्ठ नागरिकसम्म समान रूपमा सम्बन्ध बनाउन सक्ने कार्कीलाई धेरै कार्यकर्ताले आफ्नो ‘सारथि’ का रूपमा लिने गरेका छन्।
राजनीतिमा सक्रिय रहँदा कार्कीको प्राथमिकता पद प्राप्ति मात्र नभएको उनीनिकट कार्यकर्ताहरूको भनाइ छ। कांग्रेसमा राजनीति गर्नु भनेको पद लिनु मात्र नभई संगठन र समाजमा परिवर्तन ल्याउने माध्यम बन्नुपर्छ भन्ने मान्यता उनले राख्दै आएका छन्।
मन्थली नगरपालिकामा कांग्रेसका थुप्रै नेता र आकांक्षी भए पनि कार्कीको राजनीतिक शैली केही फरक देखिन्छ। आफू मात्रै अगाडि बढ्नेभन्दा नयाँ नेतृत्व र कार्यकर्तालाई पनि अवसर दिनुपर्छ भन्ने धारणा उनले राख्दै आएका छन्। त्यसैले पनि उनी कार्यकर्तामाझ सहज पहुँच भएका नेताका रूपमा स्थापित हुँदै गएको बताइन्छ।
‘आफू मात्रै बन्ने होइन, अरूलाई पनि बनाउने नेतृत्व आवश्यक छ’ भन्ने मान्यता कार्कीको राजनीतिक व्यवहारमा देखिने उनका सहकर्मीहरू बताउँछन्। संगठनभित्रका कार्यकर्तालाई अप्ठ्यारो पर्दा साथ दिने र आवश्यक पर्दा अभिभावकीय भूमिका निर्वाह गर्ने भएकाले उनीप्रतिको कार्यकर्ताको भरोसा बढेको उनीहरूको दाबी छ।
महेश कार्कीबिना मन्थली नगरपालिका मात्र होइन, रामेछापको सिंगो कांग्रेस नै कमजोर हुने अवस्था आउन सक्छ,” कार्यकर्ता भन्छन्, “उहाँ कार्यकर्ताका लागि नेता मात्र होइन, अप्ठ्यारो पर्दा अभिभावक बनेर उभिने व्यक्ति हुनुहुन्छ।”
कार्की भने आफ्नो राजनीतिक यात्रालाई व्यक्तिगत महत्वाकांक्षा भन्दा संगठन निर्माणसँग जोडेर हेर्ने गरेको बताउँछन्। कार्यकर्ताको भावना, संगठनको आवश्यकता र समाज परिवर्तनलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनको धारणा छ।
मन्थली नगरपालिकाको कांग्रेस राजनीतिमा नयाँ नेतृत्वको खोजी भइरहेका बेला कार्कीको उम्मेदवारीलाई कार्यकर्ताको दबाब, संगठनप्रतिको उनको सक्रियता र लामो समयदेखि बनाएको सम्बन्धसँग जोडेर हेर्न थालिएको छ।






