काठमाडाैं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ । सो क्रममा आपसी सहकार्यका साथै पार्टी एकताबारे समेत सामान्य छलफल भएको बताइएको छ ।
अध्यक्ष लिङ्देन महामन्त्री डा धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार बिहान उनकै निवासमा पुगेका हुन् ।
मिश्रसँगको भेटपछि महामन्त्री डा. राणाले ‘समान विचारधारा भएकाहरूसँग एकता गर्ने पार्टीको नीतिअनुसार भेटघाट भएको हो, उनले भने छलफलको सुरुवात भएको छ, निकट भविष्यमा पक्कै पनि एकता प्रयास सकारात्मक हुनेमा हामी आशा गरौँ ।’

भेटघाटका बारेमा मिश्रले विहानी पाहुनासँग ‘राजनीतिसँगै राजकाज’ संवाद! लेख्दै अगाडी थप्छन, आज विहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो। दुबैप्रति आभारी छु, भन्दै फाेटाे सहित फेसबुकमा राखेका छन् ।
रवीन्द्र मिश्रले केही महिनाअघि मात्रै ‘विचारभन्दा माथि देश’ नामको दस्ताबेज बाहिर ल्याएका थिए । त्यसमा उनी गणतन्त्र र संघीयता विरुद्ध उभिएका छन् भने राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि गणतन्त्रको विरोध गर्दै राजतन्त्रको एजेण्डा बोक्दै आएको छ ।
दुबै दल एजेण्डाको हिसावले एक ठाउँमा रहेका सन्दर्भमा आज भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।