कविता
ती तीब्र उज्याला परिवेशहरू
पग्लिन्छन् रेखाहरू भएर, कि शून्य झैँ स्थिर हुन्छन्
तर पनि पग्लिनु स्थिर हुनु होइन,
पानी हुनु हो ।
परिवेश पग्लिंदा नदी हुनु हो ।
त्यसैले, बिहानदेखिन् झरेर बेलुकीसम्म
जस्तै शिखरदेखिन् तल औलसम्म,
भिज्दै पनि
हराउँदै पनि, ती उज्याला आतंकहरू
आतंकरेखा भने, केही भन्नु हुँदैन
आतंक साँझ हुनु हो
घाम हुनु हो-
पश्चिममा अल्झिरहेका ती साँझहरू
तरल हुन्छन् तीर भएर
हरेक पाइलासितै पाइला सार्दै
हरेक आघातसितै ओर्लिंदै तल
परेको तीब्र रातो बिहानजस्तो।
लेखकका बारेमा – ईश्वर बल्लभ नेपाली साहित्यकार हुनुहुन्थ्याे । उँहाकाे जन्म वि.सं. १९९४ मा भएकाे थियाे भने वि.सं. २०६४ मा ७० बर्षकाे उमेरमा देवसाहन भएकाे थियाे । उहालाई नेपाली साहित्यको आयामेली अभियानका प्रवर्तक मध्ये एक भनिन्छ। बैरागी काँइला र इन्द्रबहादुर राई सहित उहालाई तेस्रो आयाम साहित्यिक अभियान का प्रवर्तक मानिन्छ। उहाले वि.सं. २०२९ सालमा मदन पुरस्कार पाउनु भएकाे थियाे ।