ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सर्ने गर्दछ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सङ्क्रामक रोग विशेषज्ञ प्रा. डा. जनक कोइरालाका अनुसार ओमिक्रोन भेरियन्ट (तेस्रो लहर)ले पहिलेको तुलनामा एक जनाबाट १० जनामा सङ्क्रमण सार्ने गर्दछ ।
सङ्क्रामक रोग विशेषज्ञ डा. कोइरालाका अनुसार ओमिक्रोन रुघा लागेर माथिल्लो श्वासप्रश्वास नलीमा टाँसिएर रुघा बढी लगाउने गर्दछ । डेल्टा भाइरसले भने सिधै फोक्सोमा असर गर्दथ्यो । ओमिक्रोनले पनि मानिसमा रुघा लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्छ र यसले फोक्सो सिधै सङ्क्रमण गरेर निमोनिया बनाउने कम गर्दछ ।
सङ्क्रमणको पहिलो लहरले एक जनाबाट दुई जना, दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म र अहिले तेस्रो लहर ओमिक्रोन भाइरसले एक जनाबाट १० जनालाई सङ्क्रमित गराउने गर्दछ ।
आज एकैदिन तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । हामीले जनस्वास्थ्यका मापदण्ड लागू गरेर हिड्यो भने यो भेरियन्ट व्यापक रुपमा फैलन पाउदैन । हात नियमित धुने, भीडभाड भएका ठाउँमा नजाने, मास्क राम्रोसँग लगाउने हो भने सङ्क्रमणबाट बच्न सकिन्छ ।
कोरोना भाइरस विरुद्धको खोप नलगाउने व्यक्तिमा लगाएको भन्दा १० गुणाबढी सङ्क्रमण हुने सम्भावना रहने हुन्छ । ओमिक्रोन भेरियन्टले खोप नलगाएकालाई १७ गुणा बढि गार्ह्रो बनाउने र मृत्यु हुने सम्भावना पनि २० गुणा बढी गर्दछ । यस भरियन्टबाट बच्न दुई वटा खोपको मात्रा लगाउनु पर्ने हुन्छ ।