सेयर बजारमा पुनः गिरावट आएको छ । दसैँपछि खुलेको दोस्रो दिनमै बजार फेरि घट्न पुगेको हो । आइतबार बढेको नेप्सेले लगानीकर्तालाई उत्साहित बनाए पनि सोमबार बजार घट्दा लगानीकर्ता निराश बनेका छन् । विशेष गरी साना लगानीकर्ता आत्तिएका देखिन्छन् ।
बजारको यथेस्ट संकेत अझै देखिएको छैन । आइतबार दोहोरो अंकले बढ्दा नाफा बुक गर्ने सोच सहित लगानीकर्ता बसेका थिए । कम्पनीहरूले लाभांश घोषणा गरेको अवस्थामा हतारिएर सेयर बेचिहाल्ने पक्षमा पनि लगानीकर्ता छैनन् । बैंकमा ब्याजदरको समस्या पनि हल हुँदै गएको अवस्था छ । दसैँ सकिन अझै केही दिन बाँकी नै छ । लगानीकर्ता खुलेर बजारतर्फ सोझिएका पनि छैनन् । त्यसकारण पनि बजार उकालो लाग्न नसकेको केही लगानीकर्ताको अनुमान छ ।
अर्कोतर्फ बैंकहरूले ब्याजदर बढाउन अस्वस्थ प्रतिस्पर्धा गरेपछि त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको हो । सेयर बजारलाई कहिले मौद्रिक नीतिमा, बैंकको कर्जालगायतको क्यापको प्रभाव त कहिले ब्याजदरको बहानाले सेयर बजारको स्तर झनै घटेको प्रस्ट छ ।
सोमबार नेप्से दुई हजार ६ सयको बिन्दुमा अझै ओरालो लागेर दुई हजार पाँच सय दशमलव ८७ को बिन्दुमा आएर बन्द हुन पुगेको छ । सो दिन नेप्से सूचक ६९ दशमलव ५१ अंकले घट्न पुगेको छ । कारोबारमा आएका १३ समूहका सूचकमा १२ समूहका सूचक नकारात्मक बन्न पुगेका छन् भने ट्रेडिङ समूहको सूचक मात्र झिनो अंकले सकारात्मक रहन पुुग्यो । सो दिन सर्वाधिक गुमाउनेमा फाइनान्स, जलविद्युत, विकास बैंकका लगानीकर्ता रहेका छन् भने माइक्रो फाइनान्स, जीवन बिमा समूहको सूचकमा उच्च अंकको गिरावट आएको छ ।
सोमबार घलेम्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । युनाइटेड मोदी, कालिका पावर कम्पनी, युनिभर्सल पावर कम्पनी, वरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य करिब ८ प्रतिशतले घट्दा यी कम्पनीका लगानीकर्ता निराश बनेका छन् । नेपाल हाइड्रो डेभलपर्स, छ्याङ्दी हाइड्रोपावर, हिमालयन पावर कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
कारोबारको हिसाबले पनि सेयर बजार सुस्त रहेको संकेत गर्छ । एक विज्ञ लगानीकर्ताका अनुसार बजारको समग्र टे«न्ड हेर्ने आधार भनेको लगानीकर्ताको सेयर खरिद–बिक्रीको अवस्थालाई अध्ययन गर्नुपर्छ । यदि लगानीकर्ता त्यसतर्फ आकर्षित छैनन् भने बजारको गति सुस्त हुन सक्छ ।
अघिल्लो दिन ढेड अर्बको रुपैयाँको कारोबार भएकोमा सोमबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय १८ कम्पनीको ८७ लाख कित्ता सेयर खरिद–बिक्री हुँदा दुई अर्ब ९६ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक सेयर कारोबार नबिल बैंकको नौ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सानिमा बैंकको नौ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ भने हिमालयन पावर, अपि पावर, नेपाल बैंकको सात करोड रुपैयाँको सेयर कारोबार भएको छ ।