काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि अबको २४ घण्टा महत्वपूर्ण हुने बताएका छन् । जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन कुराकानीमा अबको २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण भएको बताएका हुन् ।
सोमबार बेलारुसको सीमा नजिकै युक्रेन र रुसका प्रतिनिधिबीच वार्ता हुन लागि रहेको छ । उता वार्ताका लागि युक्रेन तयार भए पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक सहित अन्य भारी हतियारलाई विशेष सतर्कतामा रहन निर्देशन दिएका छन् ।
पुटिनले नेटोका सदस्य राष्ट्रहरुले युक्रेन माथि रसियाले गरेको आक्रमणको बिरुद्ध आक्रामक अभिव्यक्ति दिएकोमा आणविक हतियार सतर्क अवस्थामा रहन भनेका हुन् ।
युक्रेन माथि रुसको आक्रमणमा परी हालसम्म ३५२ सर्वसाधारणले ज्यान गुमाई सकेका छन् भने ज्यान गुमाउनेमा १४ जना बालबालिका समेत छन् । हालसम्ममा १६ सय ८४ जना घाइते भएको युक्रेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
तस्बिरमा युक्रेनका राष्ट्रपति लडाईमा जवानको साथमा