कविता : ‘अमोल
२०८० मंसिर ९
मन्थली,१ रामेछाप
ए ! समा समा…
त्यो कोट लाउनेलाई समा
उता मात्रै हिँड्नु पर्ने त्यो, यताबाट किन हिँड्यो ?
मेराे बपाैती मूलबाटो हिँड्नेलाई समा
ए ! समा समा…
त्यो मसँग भिड्नेलाई समा ।
मेरो महल देखिने बाटो नहिँड् तँ
तेरो बाटो त छाप्रा गल्लीको हो
सडकमा मेरो सवारी चल्दा
त्यो झ्याल खोलेर हेर्नेलाई समा
ए ! समा समा…
त्यो मेरो शासन फेर्नेलाई समा ।
मेरो मात्र खबर सुन्नु तैंले
मेरो तस्बिर मात्र हेर्नु
मेरो छोडेर देशकाे किन लेख्यो त्यसले
त्यो कलम बोक्नेलाई समा
ए ! समा समा…
मेरो मनोमानी रोक्नेलाई समा ।
मेरो सत्ता मेरो मर्जी, जे गरौं गरौं
मैले मुलुक बिगारेको प्रमाण के छ ?
मेरो उपद्रोकाे पोल लाउन
अदालत धाउनेलाई समा
ए ! समा समा…
त्यो न्याय पाउनेलाई समा ।
तँलाई कसले सिकायो तेरो संस्कृति ?
मैले दानमा दिएको पहिचान नै काफी छ
लट्टा जुल्फी किन नपालेको त्यसले ?
त्यो मौलिक बनेर आउनेलाई समा
ए ! समा समा…
त्यो टोपी लाउनेलाई समा ।
जोगी बनेर जेल पसेँ, जङ्गल पसेँ
तैंले नै जोगीलाई बोकेर जङ्गे बनाइस्
तैंले दूध पिलाइस् र त मैले विष बनाएँ
आज मेरो विष झार्छु भन्नेलाई समा
ए ! समा समा…
मेरो आडम्बर मार्छु भन्नेलाई समा ।
तँ विदेश जा पैसा कमा, देश म रुँघ्छु
तेरो त्यो कमाईको वासना म मात्र सुँघ्छु
एयरपोर्टमा लाइन बस्न छोडेर अझै पनि
आफ्नै देशलाई विकासले कस्छु भन्नेलाई समा
ए ! समा समा…
अझै पनि देशमै बस्छु भन्नेलाई समात ए ! समा समा…
मेरा विरुद्ध बोल्नेलाई समा
मेरा कर्तुत खोल्नेलाई समा ।