रामेछाप – सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा ८ सय रुपैयाले बढेर तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख २० हजार ८ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभएको छ । चाँदीको भाउ भने आज पनि हिजो जस्तै तोलाको १ हजार ५ सय ४५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर परेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बुधवार प्रतिऔंस २०४७ डलर हाराहारीमा पुगेको छ ।