काठमाण्डौमा भारतबाट दैनिक ८० मेट्रिक टन र चीनबाट पाँच/सात मेट्रिकटनसम्म प्याज भित्रिने गरेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ । यसैबिच चीनबाट प्याज आउन थालेपछि भारतीय प्याजको भाउ समेत सस्तो हुन थालेको छ । २ हप्ता अघिसम्म प्याजको भाउ किलोको १६० रुपैयाँ पुगेकाेमा अहिले घटेर ८५ रुपैयाँ पुगेको छ । काठमाण्डौको कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आज भारतीय प्याजको थोक मूल्य किलोको ७५ देखि ८५ रुपैयाँ छ । यस्तै, चिनियाँ प्याजको थोक भाउ किलोको ६५ देखि ७० रुपैयाँ छ । मङ्सिरको अन्तिम हप्ता भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालमा भाउ बढेको थियो । त्यसपछि चीनबाट प्याज भित्रिन थालेपछि भाउ सस्तो हुन थालेको हो ।