काठमाण्डौँ– एसीसी महिला प्रिमियर कप क्रिकेटमा माल्दिभ्सलाई २१४ रनको फराकिलो अन्तरले हराउँदै नेपालले विजयी भएको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो ठूलो अन्तरको जित हो । यसअघि नेपालले कतारलाई १ सय १९ रनले हराएको थियो । मलेसियाको वाईएसडी ओभलमा नेपालले दिएको २ सय २८ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्स १३ ओभर ५ बलमा १३ रन बनाउँदा अल आउट भएको हो ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय २७ रन बनायो । नेपाली महिला टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सबैभन्दा धेरै रन हो । माल्दिभ्सकी कप्तान सुमया हमीदले सबैभन्दा धेरै ५ रन बनाइन् । माल्दिभ्सका ६ जना खेलाडीले १ रन पनि जोड्न सकेनन्। नेपालकी अश्मिना कर्माचार्यले ४ तथा पूजा महतो र रुबिना क्षेत्रीले समान ३ विकेट लिए । यो जितसँगै नेपाल समूह ‘डी’ को विजेता बनेको छ । प्रतियोगिताको फाइनलमा पुग्ने टोली एसिया कपमा छनोट हुनेछन् ।