अनु खड्का, चौरीदेउराली गाउपालिका -४,काभ्रे।
दशैँ हिन्दुधर्मलम्बीहरुको महान पर्व हो । सोर्ह श्राद्द सकिए लगत्तै हजुरबुबाले केराको बोटमुनिबाट ल्याएको माटोलाई चोखो मानिन्छ भन्दै जमरा राख्ने चलन छ । घटस्थापना सुरु अर्थात जमरा राखेसङ्गै विद्यालयमा सास्कृतिक कार्यक्रम नाचगान हुन्छन । चरी ररि ररि रै भन्दै साथीहरुसङ्ग नृत्य गर्दाको ती पलहरु अविस्मरणीय छन । विद्यालयको कार्यक्रम सकेर घर नपुग्दै गुरुआमाले दिनुभएको दशैको गृहकार्य सम्झेर मन आत्तिन्थ्यो त्यो गृहकार्य जसरी नि गर्नुपर्ने हुन्थ्यो। गुरुआमाले दिनुभएको गृहकार्य र दशैको उमंगले मन बचेराले चाहारा खान्दा जतिकै खुशी हुन्थ्यो ।
एउटा कुटो, नाम्लो, एउटा बोरा र बोराभित्र माटो उघाउने एउटा कचौरा बोकेर अर्को हातले बेलौती टोक्दै एक लर्को भुरा जम्मा भइ ओरालो लागेर कन्य डाँडामा रातोमाटो लिन गएको ताजै छ। बास्ना आउनेगरी घरमा कमेरो र रातोमाटो लगाउथ्यौ । सहरबाट गाउँ आउदै गर्दा बाबाले पनि जामा लिएर आउनुहुन्थ्यो अनि जस्तो गुड छाड्न लागेका बचेराहरु खुशी हुँदै उड्छन उत्तिकै हामी जामामा यताउता दगुरेर लुकामारी गर्ने गर्थौं। गाउभरी साथीहरुमाझ खुसी बाड्न दौडिन्थ्यौ । दिनहु जमरा पुजा गरेर हजुरबुबा र हजुरआमाले छिट्टै टीका लगाउने दिन आउदै छ भन्दा क्याप्टेनले जहाजलाई गन्तव्यमा पुर्याउदा हुने जतिकै खुशी लाग्थ्यो ।
अष्टमीमा बुबाले खसी काट्नुहुन्थ्यो । दुर्गा पुजामा चन्डी पढाउदै बुबाहरुले हातहतियार पुजा गर्नुहुन्थ्यो खुब रमाइलो लाग्थ्यो । विजया दशमीको दिन विहानै सबैजनाले नुवाइधुवाइ गरेर नयाँ लुगा लगाउथ्यौ । हजुरबुबा र आमाले बुबा आमा काका काकी सबैलाई टिका र जमरा लगाइसकेपछी ठुलाको हातबाट टीका थाप्ने हाम्रो पालो हुन्थ्यो । टिका जमारा सगै ठूलो ठाउँमा पुग्नु धेरै पढ्नु भन्ने आशिर्वाद सुनेर लाग्थ्यो म सधै राम्रो पढ्नेछु, मन फुरुङ्ग हुदै दक्षिणा थापेर बाबियोको डोरि बाटेर हालेको लिङ्गे पिङ खेल्न सबैजना डाडामा जम्मा हुन्थ्यौ । पिङमा मच्किदै माथी माथी पुग्दा मेरा सपना यो भन्दा अग्लो छ जस्तो महसुस हुने गर्थ्यो।
आजभोली समयसगै मानिसको जिवनमा परिवर्तन आएको छ । प्रत्येक गाउँको घरमा रित्तिएर बुढा आमा बुबा, घरमा दशै भित्र्याउन छोराछोरी बुहारी नातिनातिनी आउनुपर्ने हुन्छ त्यही नि बोर्डिङ पढ्ने नानिबाबुको छुट्टि छिटो भयो भने आउछौ नत्र टिकाको दिनसम्म आउला भन्ने कुराले आमाबाहरुको मन गह्रौ बनेको हुन्छ। अष्टमीको दिन खसी काट्नुलाई सस्कृती धान्नु नभएर तुजुक प्रदर्शन गर्ने रुपमा लिन थालिएको छ । प्रत्येक घरको छोरा नभए छोरी परदेशिएकै छन । बालबालिकाहरु पनि बेग्लै समस्या देखिएको छ । हाम्रो बालापनमा दशैको खुसी भनेको पिङ नयाँ लुगा र खानेकुरामा थिए । तर आजभोली सुचना प्रविधिले साघुरो बनाएको छ । सबैजनामा विभिन्न मोबाइलमा गेमको लत बसेकाले पनि पारिवारिक रमाइलो घट्दै गएको छ । अहिले त दशै आउनु भनेको मदिरा खाएर होहल्ला गर्दै जुवातासको खालमा रमाउनुमा नै सिमित बनेको छ । अहिले फुलपातीमा मठमन्दिर, टीका र जमराको खुसियालीमा कमि आएको छ । यसरी दशैको मौलिकतामा परिवर्तन आउदै गरेको छ । चाडवाडको महत्वको आभाष नभएर बिस्तारै धर्म सस्कृति मुल्य मान्याता पनि लोप हुदै गएको देखिन्छ । बालबालिकालाई स्कुल देखि नै संस्कृत र संस्कार सिकाउन सकिएन भने हाम्रो संस्कार रहदैन ।
(लेखक सामुदायिक बिधालयको शिक्षक)







