सागर बोहरा
साउन १ गते, सोमबार।
आजभन्दा दुई वर्षअघि, मैले बिहानै टेलिभिजनको कार्यक्रममा गेष्ट सँग गफ गर्दै थिएँ।
कार्यक्रमको बारेमा मात्र होइन देशको राजनीतिका बारेमा गफ चलिरहेको थियो,
अचानक फोन आयो – “पेशल सर रहनुभएन।”
त्यो वाक्यले सारा कार्यक्रम रोकिएजस्तो लाग्यो।
मनमा गडेर बसेको आशंका थियो, तर पत्याउनै कठिन भयो।
वास्तवमा, उहाँको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको थियो।
तर आशा अझ बाँकी थियो।
जुन दिन उहाँ अस्पताल जानुभयो, त्यसको अघिल्लो साँझ हामी इमाडोलको जिरे खुर्सानी रेष्टुरेन्ट नजिकै बाटोमा भेटियौँ।
सधैंझैं हल्का हाँसो, गम्भीर कुरा र हाम्रो संवाद।
उहाँले भने –
” चेकअप सकेपछि गर्नुपर्ने छ सकेपछि मन्थली पुर्याउनु पर्छ है! बोहरा जि”
मैले हाँसेर जवाफ दिएँ –
“हवस् सर, पहिले स्वास्थ्य राम्रो हुनु शुभकामना!”
फोनमा अन्तिम आवाज…
अप्रेसनको अघिल्लो दिन फोन आयो –
“भाइ, मेरो सामान्य टाउकोको अप्रेसन गर्नुपर्ने रहेछ। अप्रेसन सकेपछि तपाईंले गाडीमा मन्थली पुर्याइदिनु है।”
मैले तुरुन्तै भने – “हुन्छ सर।”
फोनमा उहाँले थप्नुभयो –
“तपाईं अर्काको चिन्ता लिन छाड्नुस्, रिस उठ्यो भनेर पछि नलाग्नुस् है।”
त्यो भनाइ आज पनि मेरो फोनमा सुरक्षित छ।
तर त्यो आवाज केवल डिजिटल रेकर्डमा होइन –
मेरो कानमा, मुटुमा, जीवनमा गुञ्जिरहेको छ।
अस्पतालमा मौन भेट…
उहाँ अस्पतालमा हुनुहुन्छ भन्ने खबर पाएपछि म भेट्न गएँ।
तर त्यो भेट बोलिबाट होइन, मौनताबाट भयो।
उहाँ बोल्न सक्नुहुन्थेन।
आँखा बन्द, शरीर सुस्त… तर उहाँको आत्मा त्यो कोठाभरि थिए।
अन्त्येष्टि : एउटा आकाश चुँडियो जस्तो…
साउन १ गते, त्यस सोमबारको साझ पशुपति लान लागिएको खबर आयो।
म पुगें। सायद म मलामीमा सहभागी थोरै विद्यार्थीमध्ये एक थिएँ।
त्यो दिनको आकाशबाट झरिरहेको पानी आज पनि सम्झँदा डर लाग्छ।
मनले भन्यो –
“सर, तपाईं व्यापारी होइन, साँच्चिकै गुरु हुनुहुँदो रहेछ!”
साहित्यको यात्रा उहाँबाटै…
उहाँसँगको सम्बन्ध केवल शिक्षक–विद्यार्थीको थिएन।
उहाँ मेरो साहित्यिक जन्मदाता जस्तै हुनुहुन्थ्यो।
साहित्य पढ्ने, लेख्ने, महसुस गर्ने सिकाउने गुरू हुनुहुन्थ्यो।
उहाँ गएका एक वर्षसम्म म कुनै औपचारिक साहित्यिक कार्यक्रममा जान सकिनँ।
मनै मान्दैनथ्यो।
उहाँको खालि कुर्सी, मुस्कान, हरेक कार्यक्रममा झझल्को आउँथ्यो।
एक अधूरो वाचा…
उहाँले भनेको थियो –
“अप्रेसन सकेपछि मन्थली जानुपर्नेछ, तपाईंले गाडीमा पुर्याइदिनुपर्छ।”
मैले “हुन्छ” भनेको थिएँ, तर म पुर्याउन सकिनँ।
त्यही अधूरो वाचाले आज पनि घोचिरहन्छ।
श्रद्धासुमन – एक अविस्मरणीय गुरुका निम्ति
पेशल सर,
आज दुई वर्ष पुग्यो।
तर तपाईं सधैं हुनुहुन्छ – मेरो कलमको धारमा, मेरो चेतनाको स्पन्दनमा।







