रामेछापको शिक्षा-भूमिमा एउटा नयाँ अध्याय लेखिएको छ। त्यो अध्याय न कुनै सम्मेलनमा उद्घाटन गरियो, न त कुनै प्रचारबाजीले चर्चा पायो। त्यो अध्याय लेखिएको हो– विद्यार्थीका काँधमा बोकेर ल्याइएका १०४ वटा बुद्धचित्त बिरुवामा, जसलाई मन्थली माविको कम्पाउन्डमा रोपियो– श्रद्धा र सम्भावनाको मलजलसहित।
यो कुनै सामान्य बिरुवा हस्तान्तरण थिएन। डहु नमुना माध्यमिक विद्यालयका प्राचार्य बलबहादुर तामाङ, सहायक प्रअ, शिक्षक र विद्यार्थीहरूको यो टोलीले एउटा साझा सपना बोकेको थियो—शिक्षा केवल किताबी नहोस्, जीवनसँग जोडियोस्।
तामाङ भन्छन्, “हरेक सामुदायिक विद्यालय आत्मनिर्भर हुनुपर्छ। विद्यार्थी सिर्जनशील हुनुपर्छ।”
त्यसैले उनले केवल शिक्षणलाई केन्द्र बनाएनन्, विद्यालयलाई सीप, श्रम र उत्पादनको प्रयोगशाला बनाए।
डहु माविको कथा खास छ। देशभरबाट विद्यार्थी आउँछन् पढ्न। तर यहाँ पढ्न भर्ना हुन– परीक्षा पास गर्नुपर्छ। कुनै राजनीतिक सिफारिसले काम गर्दैन।
“यहाँ नेता होइन, सक्षम विद्यार्थी लिइन्छ,” प्रअ तामाङ दृढताताका साथ भन्छन्।
विद्यालयमा बङ्गुर फार्म छ, कुखुरापालन छ, जैविक तरकारी खेती छ। विद्यार्थी उत्पादनमा लाग्छन्, पढाइसँगै जीवनका सीप सिक्छन्। बिस्तारै विद्यालय आम्दानीको केन्द्र बन्न थालेको छ। तामाङ भन्छन्, “शिक्षक शिक्षक नै हुनुपर्छ, व्यापारी होइन। नत्र विद्यालय बिग्रन्छ।”
मन्थली माविमा जहाँ बुद्धचित्त मात्र होइन, भरोसा रोपियो
मन्थली माविका प्राचार्य टंक दाहाल र सहायक प्रअले डहु माविको योगदानलाई “ठूलो सहयोग” भने। स्नेहपूर्वक मायाको चिनो प्रदान गरे।
दाहाल भन्छन्, “हामी यी बिरुवालाई हुर्काउँछौं, स्कुलको आम्दानीको स्रोत बनाउँछौं। डहु माविको यो योगदान स्मरणीय रहन्छ।”
डहु माविबाट आएको सहयोगले दुई विद्यालयबीचको सहकार्य मात्र होइन, आत्मनिर्भर शिक्षा अभियानको प्रतीक बनेको छ।
शिक्षाको नयाँ परिभाषा: सीप, श्रम र स्वाभिमान
डहु माविमा पढाइ मात्र होइन, बालबालिकालाई आम्दानीसँग पनि जोड्ने सोच छ। यहाँ विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाइन्छ। यही हो सामुदायिक विद्यालयले लिनुपर्ने बाटो—जहाँ शिक्षा बाँच्न, सिर्जना गर्न र समाज बदल्न सघाउँछ। डहु माविको यो प्रयास अरू विद्यालयका लागि पनि जगारो हो। शिक्षालाई उत्पादनसँग जोड्न सके—गाउँका विद्यालय पनि केन्द्र बन्न सक्छन्। डहु माविले देखाएको बाटो त्यही हो।
१०४ बिरुवा, सयौं सम्भावना
आज मन्थली माविको कम्पाउन्डमा रोपिएका बुद्धचित्तका बिरुवाले हावामा मात्र अक्सिजन बाँड्ने छैनन्, भविष्यका शिक्षा र स्वाभिमानको आशा पनि बाँड्नेछन्।
डहु र मन्थलीको साझा यो प्रयासले देखाएको छ– शक्ति चाहिँदैन, सपना चाहिन्छ। सिफारिस होइन, सिर्जनशीलता चाहिन्छ।
सामुदायिक विद्यालय सशक्त बनाउन खोज्नेहरूका लागि यो एक प्रेरणादायी मोडेल हो।







