काठमाडौं: नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्।
दुई दिने औपचारिक भ्रमणका क्रममा मिश्री आइतबार बूढानीलकण्ठ पुगेर सभापति देउवासँग भेटेका हुन्। भेटमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको बताइएको छ।
भेटपछि कांग्रेस सभापति देउवाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “आज निवासमा भारतीय विदेश सचिव विक्रम मिश्रीलाई स्वागत गर्न पाउँदा खुशी लाग्यो। हाम्रो छलफल पारस्परिक विश्वास, सद्भावना र क्षेत्रीय समृद्धि तथा स्थिरताका लागि साझा आकांक्षामा आधारित घनिष्ठ र बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ पार्न केन्द्रित रह्यो।”







