काठमाडौँ: गृहमन्त्री रमेश लेखकले द्वन्द्व व्यवस्थापनको मूल आधार सहमति र सम्झौता भएको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित ‘नेपालमा शान्ति निर्माणका चुनौती’ विषयक उद्घाटन कार्यक्रममा बोल्दै उनले द्वन्द्व समाधानका लागि दुबै पक्षको लचकता र सहमतिलाई अपरिहार्य बताएका हुन्।
उनका अनुसार, नेपालमा संविधान पनि द्वन्द्वरत पक्षबीचको सम्झौताबाट बनेको हो। “द्वन्द्व व्यवस्थापन भनेको सम्झौता पनि हो। दुबै पक्ष अडानमा अड्किए द्वन्द्व समाधान हुँदैन,” मन्त्री लेखकले भने।
गृहमन्त्रीले द्वन्द्व सकारात्मक र नकारात्मक दुई खालको हुने उल्लेख गर्दै सकारात्मक द्वन्द्वले विकासलाई अघि बढाउने तर नकारात्मकले देशलाई पछाडि धकेल्ने बताए। द्वन्द्व व्यवस्थापनमा पहिचान, समयको महत्त्व र सम्झौता मुख्य तत्व भएको उनको भनाइ छ।
उनले देशमा अस्थिरता र द्वन्द्वका कारण सात पटक संविधान बन्नुपरेको स्मरण गर्दै भने, “धेरै संविधान बन्नु राम्रो होइन, सडक, पुल, विद्यालय र अस्पताल बन्नु राम्रो हो।”
वर्तमान संविधानलाई असफल बनाउन केही समूह सक्रिय रहेको दाबी गर्दै मन्त्री लेखकले समय सापेक्ष संशोधनसहित संविधानको रक्षा सबैको जिम्मेवारी भएको स्पष्ट पारे। संविधानमा गरिएको अधिकारको बाँडफाँडकै कारण नयाँ द्वन्द्वहरू उत्पन्न भइरहेको भन्दै त्यसको व्यवस्थापन अपरिहार्य रहेको उनको भनाइ थियो।
यस्तै, द्वन्द्व व्यवस्थापनका विषयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमार्फत अध्यापन गर्नेहरूको माग बढिरहेको भन्दै त्रिभुवन विश्वविद्यालयमा स्कलरशीप कोटा वृद्धि गर्न पहल गर्ने प्रतिवद्धता पनि उनले जनाए।







