काठमाडौं, असोज २२ : नेपाली बजारमा सुनको मूल्य आज फेरि ऐतिहासिक उचाइमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला २ हजार ६ सय रुपैयाँले वृद्धि भई सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ पुगेको हो।
मंगलबार सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार २ हजार ५ सय रुपैयाँले बढ्दै २ लाख ३३ हजार १ सय रुपैयाँमा पुगेको थियो। आइतबार भने सुन प्रतितोला ७ हजार ४ सय रुपैयाँले बढेर २ लाख ३० हजार ६ सय रुपैयाँ पुगेको थियो।
सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेका बेला आज चाँदीको मूल्य भने अलिकति घटेको छ। मंगलबार प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँ घटेर २ हजार ९ सय ५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।






