काठमाडौं : सरकारले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा रणनीतिबारे आज व्यापक छलफल गर्दैछ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा दिउँसो बस्ने केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आवश्यक तयारीबारे रणनीति तय गरिनेछ।
बैठकमा गृह तथा रक्षा सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनेछन्।
गृहमन्त्री अर्यालले शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिसकेका छन्। सो समितिले तयार पारेको सुरक्षा योजनाको कार्यान्वयनका विषयमा प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिसँग छलफल हुनेछ। बैठकले सुरक्षा योजनाको प्रगति मूल्यांकन गरी आवश्यक नीतिगत निर्देशन पनि दिनेछ।
यसअघि राष्ट्रपति निवास शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र चारै सुरक्षा निकायका प्रमुखबीच निर्वाचन सुरक्षाबारे महत्वपूर्ण छलफल भएको थियो। उक्त बैठकमा राजनीतिक वातावरण निर्माण र समग्र सुरक्षा सुदृढीकरणका उपायहरूबारे विचारविमर्श गरिएको थियो।







